दाङको घोराहीमा ६० बर्षीया वृद्धमाथि धारिलो हतियार प्रहार भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारकी ६० बर्षीया राकीमाया रोकामाथि बिहीबार अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको सुन र मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए।
उनका अनुसार धारिलो हतियार प्रहारबाट राकीमायाको ढाड, टाउको, घाँटीमा चोट लागेको छ। गम्भीर घाइते राकीमायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याइएको थियो। त्यहाँबाट रेफर गरी भैरहवामा उपचार भइरहेका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।
बुधबार घरमै बसिरहेको अवस्थामा अपराह्न साढे चार बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी सुनको सिक्री र मोवाइल लुटेर भागेको प्रहरी निरीक्षक न्यौपानेले बताए। उनी छोरीसंग बस्थिन्। त्यसदिन घरमा कोही नभएको मौका छोपेर धारिलो हतियार प्रहार गर्नुका साथै लुटपाट भएको हो।
तीन दिन पुग्दासम्म प्रहरीले आक्रमण र लुटपाटमा संलग्न ब्यक्तिको पहिचान गरि पक्राउ गर्न सकिरहेको छैन। प्रहरीले शंका लागेका केही व्यक्तिहरूलाई सोधपुछ गरिरहेको प्रहरी निरीक्षक न्यौपानेले बताए।