ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

Microlink Media

४ फाल्गुन २०८०, शुक्रबार


दाङ — घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो ।

उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  थापालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको आशंका गरिएको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका छ ।

श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।