काठमाडौँः गोसाइँकुण्ड दर्शन तथा भ्रमणका लागि पुग्नुभएका तथा दर्शन सम्पन्न गरी काठमाडौंलगायत विभिन्न स्थानतर्फ फर्किन लाग्नुभएका सम्पूर्ण तीर्थयात्री, पर्यटक तथा यात्रु महानुभावहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरिएको छ । हालको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म गोसाइँकुण्डबाट धुन्चेतर्फ जाने नियमित अर्थात् पुरानो मार्ग प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।
उक्त क्षेत्रमा सडक तथा यातायातको अवस्था जोखिमपूर्ण हुनसक्ने भएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित मार्गबाट यात्रा नगर्न आग्रह गरिएको हो । गोसाइँकुण्डबाट काठमाडौं फर्कने क्रममा सम्बन्धित निकायले तोकेको वैकल्पिक तथा सुरक्षित मार्ग मात्र प्रयोग गर्नुपर्नेछ । यात्राका क्रममा जथाभावी बाटो परिवर्तन नगर्न, जोखिमयुक्त स्थानमा नजान तथा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायबाट जारी हुने निर्देशनलाई अनिवार्य रूपमा पालना गर्न अनुरोध गरिएको छ ।
विशेषगरी परिवारसहित यात्रा गरिरहेका तीर्थयात्री तथा पर्यटकहरूले बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य यात्रुको सुरक्षामा विशेष ध्यान दिनुहुन आग्रह गरिएको छ । सडकको अवस्था, मौसम तथा सम्भावित प्राकृतिक जोखिमबारे जानकारी लिएर मात्र यात्रा अगाडि बढाउन पनि अनुरोध गरिएको छ । यसअघि प्रयोग हुँदै आएको धुन्चेतर्फको पुरानो मार्ग सुरक्षित रहेको आधिकारिक जानकारी नआएसम्म उक्त मार्ग प्रयोग नगर्नुहोस्। आफ्नो गन्तव्यमा पुग्न केही समय ढिला भए पनि जोखिम मोलेर यात्रा नगर्नु नै सबैभन्दा सुरक्षित उपाय हो । सम्बन्धित सबै तीर्थयात्री तथा पर्यटक महानुभावहरूले यो सूचना आफूमा मात्र सीमित नराखी सँगै यात्रा गरिरहेका अन्य व्यक्ति, परिवार तथा साथीभाइलाई समेत जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ ।
सुरक्षित यात्रा गरौँ, जोखिमयुक्त मार्ग प्रयोग नगरौँ। सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनलाई प्राथमिकताका साथ पालना गरौँ ।





