बाढीमा आमालाई गुमाएकी ५ वर्षीया इशारा अस्पतालमा एक्लै, स्वास्थ्यकर्मी बने ‘आफ्ना मान्छे’


काठमाडौँः रसुवाको खाल्टेमा आएको बाढीमा आमालाई गुमाएकी पाँच वर्षीया इशारा तामाङ अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन्। बाढीको भेलमा परेर जालमा अल्झिएको अवस्थामा उद्धार गरिएकी इशारा पेडियाट्रिक सर्जरी वार्डमा छिन् ।

आँखा खोल्नेबित्तिकै उनले आफ्नो नाम ‘इशारा तामाङ’ बताएकी थिइन् । त्यसैबाट उनको पहिचान खुलेको हो । उनले बाढी आएको बेला आफू आमासँगै रहेको र भेलले आमालाई बगाएको बताएकी छन् । ‘ममीलाई बगायो । म हाम फालेर अघि बढ्दा जालीमा अड्किएँ,’ उनले चिकित्सकलाई भनेकी छन् । इशाराको शरीरमा चोटपटक छ भने बाढीको त्रासले उनी मानसिक रूपमा पनि प्रभावित छिन्। उपचारका क्रममा उनको हेरचाह गर्ने परिवारका कोही अस्पतालमा छैनन् ।

त्यसैले अहिले डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले नै उनलाई आफ्नै बच्चाजस्तै हेरचाह गरिरहेका छन् । अटेन्डेन्ट पवित्रा मगरका अनुसार इशारालाई अस्पताल ल्याउँदा शरीरमा लगाउने कपडासमेत थिएन । स्वास्थ्यकर्मीहरूले नै कपडा, खाना र आवश्यक सामग्रीको व्यवस्था गरेका छन् । उपचारका क्रममा उनको कानमा एउटा सानो सुनको मुन्द्रा भेटिएको छ । परिवारको पहिचान नखुलेसम्म सुरक्षित राख्न उक्त मुन्द्रा अस्पतालले जिम्मा लिएको छ । इशाराले आफ्ना बुवा काठमाडौंमा रहेको बताएकी छन् ।

अहिले सामाजिक सञ्जालमार्फत उनका बुवाको खोजी भइरहेको छ । उनी रसुवाको उत्तरगया गाउँपालिका–१, सातबिसेस्थित श्री रामचन्द्र माविमा अध्ययनरत रहेको बताइएको छ । आमा बाढीमा हराइन्, बुवा सम्पर्कविहीन छन्। पाँच वर्षीया इशारा भने अस्पतालको शय्यामा आफ्ना मान्छे आउने आशामा छिन् ।