काठमाडौँः धादिङको नीलकण्ठ नगरपालिका–९, १२ र ३ का २६ जना गोसाइँकुण्ड जाने क्रममा रसुवा बाढीमा परी बेत्रावतीबाट बेपत्ता भएका छन् ।
उनीहरूमध्ये नीलकण्ठ–९ की गायत्री लम्सालको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा फेला परेको छ । गायत्रीका श्रीमान् शिवहरि लम्सालसहित बाँकी २५ जना अझै बेपत्ता छन्। काठमाडौं, चितवन, नवलपुर हुँदै पोखरासम्म आफन्तले खोजी गरे पनि अन्य कसैको शव फेला नपरेपछि परिवारले जीवित भेटिने आशा लगभग मारिसकेका छन् ।
गायत्रीको शवसँगै उनका बेपत्ता श्रीमान् शिवहरिको कुशको शव बनाएर धादिङमा अन्त्येष्टि गरिएको आफन्त गोकर्ण लम्सालले बताए । सोही गाडीमा रहेका नीलकण्ठ–३ का तुलसी र ईश्वरीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । बेत्रावतीमा उनीहरूले घरमा फोन गरी बाढी आएको र आफूहरू एउटा घरमा बसेको बताएका थिए । बस बगिसकेको जानकारी गराएलगत्तै उनीहरूसँग सम्पर्क टुटेको आफन्तले बताएका छन् ।
परिवारले प्राप्त भिडियो, फोन सम्पर्क र घटनास्थलको अवस्थाका आधारमा जीवित भेटिने सम्भावना न्यून रहेको निष्कर्ष निकालेको छ । एक जनाको शव मात्र भेटिएपछि बाँकी २५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।





