जलवायुजन्य विपद्को क्षतिपूर्ति माग्दै प्रधानमन्त्री शाहले न्युजिल्यान्डसँग मागे साथ


काठमाडौँः प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको वित्तीय सहयोगका लागि अन्तर्राष्ट्रिय मञ्चमा न्युजिल्यान्डको साथ खोजेका छन् ।

शुक्रबार न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गरेका हुन् ।

भोटेकोशी बाढीपछि न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति शाहले धन्यवाद व्यक्त गरे। उनले बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र बनाएको र बेपत्ता नागरिकको खोजीलाई उच्च प्राथमिकता दिएको जानकारी पनि दिए ।

वार्तामा प्रधानमन्त्री लक्सनले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति न्युजिल्यान्ड सरकार र जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए ।