गजलकार प्रदीपकुमार मैनालीको रचना, गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वर रहेको गजलको केही दिनयता सांगीतिक फाँटमा चर्चा चुलिएको छ । गजललाई सात दिनअघि मात्र पेलाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संगीतका हस्तीहरू मात्र होइन, युवा पुस्ताका संगीतप्रेमीले समेत यसलाई निकै रुचाएका छन् । गजल ‘मुजारे मुसम्मन अखरब’ बहर र ‘दिक्पाल’ छन्दमा रचना गरिएको छ । त्यसैमा संगीतकार पेलाले मालकौंस रागको ध्वनि भरेका हुन् ।
पछिल्लो समय नेपाली गीतसंगीतको अवस्था अलिक अलग भएको छ । अर्थात्, सुन्ने भन्दा पनि हेर्ने विषयवस्तु बनेका छन् गीतसंगीत । श्रोताहरू दर्शकमा परिणत भएपछि स्रष्टाहरू लाखौं खर्च गरेर चल्तीका मोडलसहित बडो तामझामले गीत सार्वजनिक गर्ने होडबाजीमा छन् । तर बजारमा चलेकाभन्दा फरक गीत निकालेर पेलाले साहस गरेका छन् । र, त्यही साहसले अहिले सांगीतिक बजारमा चर्चा बटुलेको छ । सिर्जनाले बजार होइन, बजारले सिर्जना खोज्दै आइपुग्छ,’ भन्ने भनाइ उनको संगीत साधनाको मर्मले सार्थक बनाइदिएको छ ।
आफ्नो पछिल्लो सिर्जना मन पराउने श्रोताको जमात बढेसँगै उनलाई भान भएको छ, ‘संगीत बुझ्ने मानिसहरू राम्रो गीतसंगीतको पर्खाइमा रहेछन् । हुन सक्छ, बजारका गीतले श्रोता/दर्शकहरूको भाव छुन सकेन । २०५३ सालदेखि निरन्तर संगीत साधनामा तल्लीन साधक पेला भने बजार, पद, पुरस्कार र सम्मानबाट निकै दूर छन् । उनी शास्त्रीय संगीतको धुन भर्छन्, आफैं गाउँछन् अनि महसुस गर्दै त्यसैमा भावविह्वल भएर आनन्द लिन्छन् ।
‘संगीतप्रति मेरो सम्मान त छँदै छ तर गाउँदै हिँड्ने, गीत बजारमा ल्याउने र संख्या मात्र थप्ने मेरो रहर पटक्कै होइन,’ आफ्नो पछिल्लो गीतबारे प्रतिक्रिया दिँदै उनी भन्छन्, ‘बजारका रूपमा हेर्दा यसमा मलाई त्यति धेरै खुसी र उत्साह त छैन । यद्यपि संगीतप्रेमीलाई हृदयमा छोएर तृप्त पार्ने सिर्जना बन्यो । उहाँहरूलाई आनन्दित पार्न सकियो । यस मानेमा म निकै खुसी छु ।
https://youtu.be/9_5KDywshD4
यो पनि पढ्नुहोस
उपसभामुखका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी सांसद समेत रहनुभएकी रानामगरले आज दिउँसो संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । आजै बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले उहाँलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरुबीच भएको भागबण्डाका आधारमा उपसभामुख पद रास्वपाले पाउने भएको हो ।
उम्मेदवारी दर्ताका क्रममा रानामगरलाई रास्वपाकै सांसद सोबिता गौतमले प्रस्ताव गर्नुभयो भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका अध्यक्ष एवं उपप्रधानमनत्री राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको छ । उभसभामुखका लागि भोलि शनिबार निर्वाचन हुँदै छ ।