पूर्वराजाद्वारा एमाले नेताको कार्यक्रम उद्घाटन, लाग्यो राजतन्त्रको पक्षमा नाराबाजी , अब राजा ज्ञानेन्द्र शाह चुप नबस्ने घोसणा


नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापास्थित एक अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले सुरु गरेको ‘महाभियान’मा पूर्वराजा ज्ञानेन्द्र शाहले साथ दिएका छन्। सोमवार झापाको काँकडभिट्टामा आयोजित उक्त कार्यक्रमको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरे। वर्तमान अवस्थामा देशभरि देखिएका विकृतिविरुद्ध महाभियान सञ्चालन गरिएको प्रसाईँको दाबी छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔँ’ नाम दिइएको अभियानको आरम्भ वर्तमान राज्यव्यवस्थाको विरोधीजस्तो देखिएको थियो।

अभियानलाई देशव्यापी रूपमा लैजाने बताइएको भए पनि त्यसको स्पष्ट प्रारूप कस्तो हुने भन्ने चाहिँ खुलाइएको छैन। प्रसाईँ संयोजक रहेको ‘महाभियान’को उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सहभागी थिए। तर पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी उपस्थित थिएनन्। प्रसाईँले केही दिनअघि पूर्वराजपरिवारलाई भेटेरै उनको संयोजकत्वमा आयोजना गरिने उक्त अभियानको आरम्भको कार्यक्रमका लागि निमन्त्रणा दिएका थिए।

हाल पूर्वराजपरिवारका सदस्यहरू झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको निवासमा छन्। प्रसाईँ संयोजक रहेको कार्यक्रमको उद्घाटन गरेर पूर्वराजपरिवारका सदस्यहरू कार्यक्रमस्थलबाट बाहिरिएका थिए। प्रसाईँको मन्तव्य दिँदा पूर्वराजपरिवारका सदस्यहरू त्यहाँ थिएनन्। अस्पताल सञ्चालक दुर्गा प्रसाईँ एमालेका केन्द्रीय सदस्य हुन्। यसअघि उनी माओवादी पार्टीसँग आबद्ध थिए।