८४ र ६४ वर्षिय वृद्धवृद्धाले गरे विवाह , भन्छन दुःख परेपछि जोडा चाहिने रहेछ


गुल्मीका ८४ वर्षिय वृद्ध कुलानन्द खनाल र अर्घाखाँचीकी ६४ वर्षिया नारायणी पौडेलले विवाह गरेका छन् । डेढ दशकदेखि एक्लिएका धुर्कोट–२ सुफलका खनालले छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको बताएका छन्। छोरानाति छुट्टिएपछि उनी एक्लै वसोवास गर्दै आएका छन् ।

श्रीमती बितेको १५ वर्ष भयो, आफ्नो जोडा बितेपछि एक्लैजस्तो, तातोपानी खान दिने कोही भएन,’ उनले भने, ‘दुःख परेपछि जोडा चाहिने रहेछ, त्यसैले विवाह गरें ।’ काउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । कुलानन्दसँग विवाह गरेकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन ।

उनका पनि तीन छोरा, दुई छोरी छन्। तर, उनीहरुले सहारा नदिदा दुःख पाएकाले विवाह गरेको वताईन। खनाल र पौडेल दुवैका छोरीको नेपालगन्जमा बिहेबारी भएको छ । छोरी भेट्न गएका बेला संयोगले आफूहरूको भेट भएको नारायणीले बताइन् । नेपालगन्जमा भएको परिचयमै एकआपसमा दुःख साटासाट भएको र विवाहका लागि मञ्जुर भएको कुलानन्दले बताए ।

वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको नारायणीले सुनाइन । तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग बचेको जिउनीबाट खुसीसाथ बाँच्ने कुलानन्दले बताए ।