३२ वर्षीय भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई अष्ट्रेलियाको प्रहरीले मंगलबार गोली हानेर हत्या गरेको छसिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छुरा प्रहार गर्नुका साथै प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेकाले उनलाई गोली हानिएको अष्ट्रेलियन प्रहरीले जनाएको छ।
प्रहरीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डमा प्रकाशित समाचार अनुसार अहमदले मंगलबार बिहान १२.०३ बजे सिड्नीको पश्चिममा रहेको अबर्न रेलवे स्टेशनमा कार्यरत एक २८ वर्षीय क्लिनरमाथि आक्रमण गरेका थिए। घटनाको करिब पाँच मिनेटपछि अबर्न प्रहरी चौकी पुगेका उनले त्यहाँका प्रहरी अधिकारीमाथि पनि आक्रमणको प्रयास गरेका थिए।
अस्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आक्रमणकारी भारत तमिलनाडुका हुन्। अष्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासले घटना अत्यन्तै डरलाग्दो र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ। विदेश मामिला तथा व्यापार विभाग,न्यू साउथवेल्स कार्यालय र राज्य प्रहरी अधिकारीहरूसँग यस विषयमा कुरा उठाएको दूतावासले जनाएको छ।
प्रहरी चौकीमै पुगेर प्रहरी अधिकारीमाथि नै आक्रमण गर्ने प्रयास गरेकाले उनलाई गोली हान्नुको बिकल्प नरहेको न्यू साउथवेल्स प्रहरी सहायक आयुक्त स्टुअर्ट स्मिथले मंगलबार एक पत्रकार सम्मेलनमा जानकारी दिए।आक्रमणकारीविरूद्ध अफिसरहरूसँग प्रतिक्रिया दिन केही सेकेन्डमात्र समय रहेको भन्दै उनले उक्त व्यक्तिलाई गोली हान्न बाहेक कुनै विकल्प बाँकी नरहेको स्पष्ट पारे।
‘म यी अधिकारीहरूलाई पूर्ण रूपमा समर्थन गर्छु। यो दर्दनाक छ। यो हाम्रो एक पुलिस स्टेशनमा महत्त्वपूर्ण घटना हो,’ उनले भने, ‘उसले प्रहरी अफिसरलाई ताकिसकेको बेला हामीसँग एक दमै थोरै समय थियो। त्यसैले गोली हान्नुको बिकल्प थिएन।’
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनीहरूले आक्रमणमा मानसिक स्वास्थ्यको भूमिका थियो वा थिएन भनेरसमेत अनुसन्धान गरिरहेका छन्। सैयदलाई घटनास्थलमै प्यारामेडिकहरूले उपचार गरे पनि वेस्टमीड अस्पतालमा लगिएको थियो। उनलाई बिहान १:३० बजेपछि मृत घोषित गरिएको थियो।
छुरा प्रहारबाट घाइते भएका क्लिनरको स्वास्थ्य स्थिति स्थिर रहेको प्रहरीले जनाएको छ। उनको वेस्टमीड अस्पतालमा उपचार भइरहेको छ।