सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टीट्वान्टी खेल्ने


 नेपालका दुई चर्चित क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा ग्लोबल टीट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । सन्दीप प्रभावशाली स्पिनर हुन् भने दीपेन्द्र अलराउन्डर खेलाडी हुन् । यी दुई नेपाली खेलाडीलाई मंगलबार राति दुई फरक क्लबले आबद्ध गरेका हुन् ।

खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे जागवार्सले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्ध गरेको हो । सन्दीपले यसअघिका दुवै सिजनमा पनि ग्लोबल टीट्वान्टी लिग खेलेका थिए । पहिलो सिजन मोन्ट्रियल टाइगर्समा आबद्ध भएका सन्दीपले दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए ।

दीपेन्द्रले भने पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । ग्लोबल टीट्वान्टी लिग खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् । ग्लोबल टीट्वान्टी लिग आगामी जुलाई २० देखी अगस्त ६ तारिखसम्म चल्नेछ ।