तनावग्रस्त बरहथवा कर्फ्यूपछि सुनसान, प्रहरीको गोली लागेर मृत्यु भएका शाहको शव सडकमै

Microlink Media
Microlink Media
२१ पुस २०८०, शनिबार
शेयर

 सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड र आगजनीमा उत्रेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे । सोही क्रममा प्रहरीले गोली चलाउँदा साहको मृत्यू भयो ।

मृतक ३० वर्षीय साह बरहथवा नगरपालिका ६ का बासिन्दा हुन् । उनी बंगलादेशमा एमबीबीएस पढ्दै थिए । तर तीन वर्ष अगाडी बुवा बंगालीराम साहको निधन भएपछि उनी पढाई छाडे । उनी एक्लो छोरा भएकाले एमबीबीएस बन्ने सपना छाडेर बुवाले गरेको व्यावसाय सम्हाले ।

वडा नम्बर ५ मा उनको ’सर्लाही होटल’ संचालनमा छ ।त्यही होटल जाने क्रममा उनमाथि गोली लागेको थियो । टाउकोमै गोली लागेपछि सडकमा ढलेका उनको तत्कालै मृत्यू भयो ।

’मेरो मामा आन्दोलनमा जानु भएको थिएन’, मृतक साहका भान्जा विवेकले भने, ’दाना गोदामबाट होटल जाने क्रममा प्रहरीले चलाएको गोली मामालाई लाग्यो । टाउकोमै गोली हानिएको छ ।’

शाहलाई विद्युत प्राधिकरण कार्यालय नजिक गोली लागेको हो । उक्त स्थान आन्दोलन भएको स्थानदेखि करिब ३/४ सय मिटर दूरीमा छ । विवेकले प्रश्न गरे, ‘आन्दोलन भएको ठाउँमा कसैलाई गोली लागेन । तर ३/४ सय मिटर दूरीमा मेरै मामालाई कसरी लाग्यो ? यसको छानबिन हुनुपर्छ ।’

उनले हवलदार सोनेलाल यादवले गोली चलाएको आरोप पनि लगाए । उनले नेपालप्रेससंग भने, ’हवलदार यादव होटलमा आएर जहिल्यै सित्तैमा खान चाहन्थे । यो विषयलाई लिएर उनीसंग एक पटक झगडा परेको थियो । त्यसैले रिसईबीले उनले नै मामामाथि गोली चलाएको हुनसक्छ ।’

मृतक साहको शव लिएर उनका परिवारका सदस्यहरु र आफन्तहरु कठाङ्ग्रिदो चिसोमा सडकमै आगो बालेर बसिरहेका छन् । प्रहरीहरु करिब ३/४ सय मिटरको दूरीमा छन् । प्रशासनले कर्फ्यू लगाएकाले घरबाट कोही निस्केका छैनन् ।

जनप्रतिनिधिको घमण्डले घट्यो घटना

बरहथवा नगरपालिकाको कार्यपालिका बैठकले गत असोजमै प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर पछि नगरप्रमुख कल्पना कुमारी कटुवाल र उपप्रमुख रामबाबु प्रसाद साह निर्णय कार्यान्वयन गर्न चाहेनन् ।

नगरप्रमुख र उपप्रमुख नेकपा एमालेका छन् । त्यहां १८ वटा वडा छन् । अधिकांश जनप्रतिनिधिले प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० वेडमा स्तरोन्नती गर्नुपर्ने अडान लिए । उनीहरु नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख र उपप्रमुखलाई दबाब दिन थाले ।

शुक्रवार नगरप्रमुख र उपप्रमुखले बैठक डाकेको थियो । तर एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरे । आन्दोलनमा उत्रेकाहरु तोडफोड उत्रिए । गाडी पनि जलाए । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा साहको मृत्यू भयो ।

वडा नम्बर ६ का वडाध्यक्ष मो. आफताब आलमले नगरप्रमुख कटुवालको आनाकानीकै कारण आन्दोलन चर्केको बताए । उनले भने, ‘गरिसकेको निर्णय कार्यान्वयन हुनुपर्छ नी । तर नगरप्रमुख र उपप्रमुखले आनाकानी गरेपछि आज यस्तो ठूलो घटना घटेको छ ।’

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।