विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले मंगलबार (आज) काठमाडौं उपत्यकामा कार्यक्रम गरिरहेको छ। प्रसाईंले गत वर्ष फागुन १ गते राजतन्त्र र हिन्दू राज्यसहितको माग गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारसहित उपस्थितिमा उक्त अभियानको थालनी गरेका थिए।
त्यसैको एकवर्ष पुगेको अवसरमा प्रसाई समूहले काठमाडौंको भृकुटीमण्डपमा आज कार्यक्रमको आयोजना गरी शक्ति प्रदर्शन गर्ने जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत आमन्त्रण गरिएको थियो। तर, उनी सहभागी नहुने खबर आइरहेका छन्। पूर्वराजा शाह यतिबेला चितवनमा छन्।
यद्यपी देशभरिबाट नागरिकहरू सहभागिता जनाउन आएको प्रसाईं समूहले जनाएको छ। प्रसाईं समूहका अनुसार भृकुटीमण्डपमा आउनुअघि काठमाडौंका विभिन्न सात स्थानबाट र्याली गर्दै सभा स्थलमा पुग्ने तयारी छ।
जसमा मिटरब्याज पीडितहरू कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुँदै पहिलो समूह, ककनी, गंगबु, बालाजु नयाँबजार, रानीपोखरी हुँदै दोस्रो समूह, लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर हुँदै तेस्रो समूह, स्वयम्भू, ताहचल, डल्लु, वसन्तपुर हुँदै चौथो समूह, वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै पाँचौ समूह, चाबहिल, गौशाला, जोरपाटी, मैतीदेवी, नक्साल हुँदै छैठौं समूह र भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै सातौ समूह कार्यक्रम स्थल पुग्ने प्रसाईं समूहले जनाएको छ।
यसअघि प्रसाईं समूहले मंसिर ७ गतेदेखि केही दिन काठमाडौंमा प्रदर्शन गरेको थियो। विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले काठमाडौँका विभिन्न ठाउँबाट र्याली निकालेका छन्।
काठमाडौँका विभिन्न ठाउँबाट निकलेको र्याली अहिले भृकुटी मण्डपतर्फ अगाडि बढिरहेको छ। र्यालीमा सहभागी भएकाहरूले नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। प्रसाईंले गत वर्ष फागुन १ गते राजतन्त्र र हिन्दु राज्यसहितको माग गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारसहित उपस्थितिमा उक्त अभियानको थालनी गरेका थिए।