गुल्मीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

Microlink Media

१४ बैशाख २०८१, शुक्रबार


 गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राती गुल्मीदरवार गाउँपालिका–३ म्यालपोखरी स्थित तम्घास रिडी सडक खण्डमा लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–३ राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शकर पोखरेललले जानकारी दिए । मृतक घर्तीको टाउकोमा चोट, कान र नाकबाट रगत बगेको अवस्थामा उद्दार गरेर गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो । 

उपचारको क्रममा मृत्यु भएपछि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । त्यस्तै दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–४ भट्टेचौरका ३१ वर्षका यम बहादुर सुर्यवंशी घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेकाले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

१ सय ५० सिसिको पल्सर मोटरसाइकल गौडाकोटबाट बिरवासतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक घर्तीको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालको शवगृहमा राखिएको छ ।