काठमाडौँः रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा सडक पार गर्ने क्रममा उनीहरूलाई गाडीले ठक्कर दिएको हो ।
मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् । सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज. १४८२ नम्बरको विद्युतीय गाडीले सडक पार गर्दै गरेका आमा–छोरीलाई एक्कासि ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको थियो ।
तर, अस्पताल पुर्याएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले विद्युतीय गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





