काठमाडौँः चितवनको भरतपुर महानगरपालिका–४ स्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा एक युवकविरुद्ध जाहेरी दर्ता भएको छ ।
पीडित परिवारले भरतपुर–७ निवासी २८ वर्षीय सन्देश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् । आरोपअनुसार भट्टले बालिकालाई मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर कोठामा चुकुल लगाई बलात्कार गरेका थिए । जाहेरीअनुसार आरोपीले योजनाबद्ध रूपमा रिसोर्टको कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ लगेका थिए ।
बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर भाग्न सफल भएको बताइएको छ । घटना साउन ३१ गते भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । घटनापछि आरोपी भट्ट फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ ।





