गाजामा शव गाड्नसमेत ठाउँको अभाव, ४० भन्दा बढी समाधिस्थल नष्ट


काठमाडौँः इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या बढेसँगै शव गाड्नका लागि चिहानको अभाव गम्भीर बन्दै गएको छ । युद्ध सुरु भएयता ४० भन्दा बढी समाधिस्थल नष्ट भएका छन् भने बाँकी चिहानहरू पनि भरिँदै गएका छन् ।

गाजाको औकाफ तथा धार्मिक मामिला मन्त्रालयका अनुसार इजरायली सेनाको नियन्त्रणमा रहेका क्षेत्रका समाधिस्थलमा जानसमेत प्रतिबन्ध लगाइएको छ । लगातारको बमबारी र जबर्जस्ती विस्थापनका कारण अन्त्येष्टिका लागि प्रयोग हुने केही ठाउँ अहिले विस्थापितहरूका आश्रयस्थल बनेका छन् । चिहानको अभावका कारण कतिपय मृतकलाई पुराना चिहानमै पुनः गाड्नुपर्ने अवस्था आएको छ ।

चिहानमा राखिने ढुङ्गा तथा अन्य सामग्रीको अभाव हुँदा मृतकको पहिचानका लागि कागज, माटो, जस्तापाता वा भत्किएका भवनका टुक्रासमेत अस्थायी संकेतका रूपमा प्रयोग भइरहेको छ । गाजाका अधिकारीहरूका अनुसार उचित चिहान बनाउन अहिले ७०० देखि १ हजार शेकेलसम्म खर्च हुने गरेको छ । आर्थिक कठिनाइमा रहेका परिवारका लागि यो रकम जुटाउनसमेत कठिन भएको छ । युद्धका क्रममा धेरै शव बगैंचा, पाल, विस्थापित शिविर, विद्यालय तथा अस्पतालका परिसरमा अस्थायी रूपमा गाडिएका थिए ।

युद्धविरामपछि परिवारहरूले ती अस्थायी चिहान तथा भग्नावशेषबाट आफन्तका शव निकालेर पुनः समाधिस्थलमा अन्त्येष्टि गर्न थालेका छन् । अधिकारीहरूका अनुसार अक्टोबर २०२३ देखि गाजामा ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । युद्धविरामपछि पनि ठूलो सङ्ख्यामा शवको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले गाजामा नयाँ समाधिस्थलको खोजी चुनौतीपूर्ण बनेको छ