गरिमा चौधरीको अन्त्येष्टि, बाबुले दिए दागबत्ती


काठमाडौँः बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ । कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा गरिमाको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।

उनका बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए । गरिमाको शव गत मंगलबारदेखि बारा सदरमुकामस्थित कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। बालिकाको हत्याको विरोधमा बुधबारदेखि विभिन्न स्थानमा सडक संघर्ष र प्रदर्शन हुँदै आएको थियो । शनिबार मध्यराति सरकार र पीडित परिवारबीच सहमति भएपछि परिवारले आइतबार अस्पतालबाट शव बुझेको हो ।

सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं पुगेका गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंँबाट बारा फर्किएका थिए । उनीहरू फर्किएपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव बुझ्न परिवारलाई अस्पताल लगेको थियो । शव बुझेपछि परिवारजन, आफन्त तथा स्थानीयको उपस्थितिमा गरिमाको अन्तिम संस्कार गरिएको हो।

घटनापछि न्यायको माग गर्दै स्थानीयस्तरमा चर्किएको आन्दोलन सहमतिपछि केही शान्त भएको छ । गरिमाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारीहरूको पनि सहभागिता थियो ।