काठमाडौँः पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ स्थित लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–३ हात्तीसुँडेका कृशल दाहाल रहेका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ः५० बजे कृशल दुई जना साथीसँग लोहाजोर खोलामा पौडी खेलिरहेका बेला डुबेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हात्तीसुँडेबाट प्रहरी नायब निरीक्षक कामबहादुर गुरुङको कमान्डमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा कृशललाई खोलाबाट उद्धार गरी उपचारका लागि मकवानपुर सहकारी अस्पताल ल्याएको थियो । तर उपचारका क्रममा दिउँसो २ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार पौडी खेल्न गएका अन्य दुई बालक भने सकुशल रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





