सर्वोच्च अदालतको छतबाट हामफाल्ने प्रयास गरेका अधिवक्ता सुरक्षाकर्मीबाट उद्धार


काठमाडौँः मंगलबार सर्वोच्च अदालतको नयाँ भवनबाट एक जना अधिवक्ताले हामफालेर आत्महत्या गर्ने प्रयास गरेका छन् । छतबाट हामफाल्न खोजेका उनलाई सुरक्षाकर्मी र अदालतका कर्मचारीले समयमै उद्धार गरेका हुन् । प्रहरीका अनुसार आत्महत्या प्रयास गर्ने व्यक्ति अधिवक्ता लालबहादुर राई हुन् ।

उच्च अदालत हुँदै सर्वोच्च पुगेको ठगीसम्बन्धी मुद्दामा सोमबार आफ्नो विपक्षमा फैसला भएपछि राईले आत्महत्या प्रयास गरेको बताइएको छ । फैसला आफ्नो विपक्षमा आएपछि राईले ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ । त्यसपछि उनी सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका थिए । छतबाट हामफाल्न खोजेपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरी उनलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगेका छन् ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको इजलासले सोमबार उच्च अदालतको फैसला सदर गरेको थियो । उक्त मुद्दामा सर्वेश मरासिनी, राजु श्रेष्ठ, खेमराज निरौला, शिव कार्की, राजेश श्रेष्ठ, खुशचन्द्र श्रेष्ठ, लालबहादुर राई, गंगाराम अधिकारी र सैवालकुमार दत्त विपक्षी रहेका छन् । उच्च अदालतको फैसलाविरुद्ध राईले नै सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

मुद्दामा आफ्नो विपक्षमा फैसला भएपछि उनी सर्वोच्च अदालतको छतमा पुगेका थिए । समयमै उद्धार भएपछि सम्भावित दुर्घटना टरेको हो ।