लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, एमाले–नेकपा सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन


काठमाडौँः लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथ गराएका हुन् ।

शपथ लिनेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा कुश्मा थारू छन् । पुनलाई स्वास्थ्य मन्त्रालय, थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित थिए ।

साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो । सोही सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ ।

एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन गरिएको बताइएको छ ।