काठमाडौँः भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।
खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चपली–देवीघाट ६६ केभी तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी थप क्षेत्रमा विद्युत् आपूर्ति गर्ने तयारी गरिरहेको छ । त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनबाट समेत वैकल्पिक आपूर्ति व्यवस्था मिलाइएको छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् सेवा नियमित गर्न दक्ष प्राविधिकसहितका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । प्राधिकरणले सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट तत्काल विद्युत् आपूर्ति गर्ने र क्षतिग्रस्त संरचना मर्मत गरी नियमित सेवा पुनःस्थापना गर्ने कामलाई तीव्रता दिएको जनाएको छ ।





