काठमाडौँः भारत सरकारले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालीका लागि दोस्रो चरणमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ ।
भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार भारतबाट पठाइएको राहत सामग्रीमा खाद्यान्न, औषधि तथा बाढीपीडितका लागि आवश्यक अन्य सामग्री समावेश छन् । विपद्को कठिन परिस्थितिमा रहेका प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले भारतले थप राहत पठाएको हो । यसअघि भारत सरकारले बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो। दोस्रो चरणमा थप ३७.५ टन सामग्री पठाइएसँगै भारतबाट नेपालमा पठाइएको मानवीय सहायता थप बढेको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँग नियमित सम्पर्कमा रहेको जनाउँदै विपद्का कारण उत्पन्न अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताएका छन् । भारतले आवश्यकताअनुसार नेपाललाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । रसुवामा आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सडक, पुल, विद्युत् आयोजना, सञ्चार तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम जारी रहेको छ ।





