बाढीपीडितको उद्धार र राहतका लागि साउदीसँग सहयोग माग


काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि साउदी सरकारसँग सहयोगको आग्रह गर्नुभएको छ ।

बिहीबार मन्त्रालयमा साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानसँग भएको भेटवार्ताका क्रममा मन्त्री यादवले रसुवामा बाढी र पहिरोले पुर्‍याएको ठूलो जनधनको क्षतिबारे जानकारी गराउँदै नेपाललाई मानवीय सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको हो । मन्त्री यादवले विसं २०७२ को विनाशकारी भूकम्पपछिकै ठूलो विपद्का रूपमा पछिल्लो बाढीलाई उल्लेख गर्दै सयौँ मानिसले ज्यान गुमाएको र ठूलो मात्रामा भौतिक पूर्वाधार तथा सम्पत्तिमा क्षति पुगेको बताउनुभयो ।

बाढीका कारण प्रभावित नागरिकको तत्काल उद्धार, विस्थापितलाई राहत, आवश्यक सामग्रीको व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चुनौतीपूर्ण बनेको उहाँको भनाइ थियो । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न, औषधि, अस्थायी आवासलगायत अत्यावश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो। उहाँले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी सरकारसँग विशेष आग्रह गर्नुभएको हो ।

भेटवार्तामा नेपाल र साउदी अरबबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो। दुवै पक्षबीच आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।