काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।
विपद्का कारण सञ्चार सेवा अवरुद्ध भएपछि उद्धार तथा समन्वयमा समस्या देखिएसँगै सूचना प्रवाहलाई सहज र निरन्तर बनाउन स्याटेलाइट फोन उपलब्ध गराइएको हो।
उपलब्ध फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोट पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा क्षति पुगेका क्षेत्रमा यी फोनले खोज तथा उद्धार टोलीबीच समन्वय र सूचना आदानप्रदानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





