त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसहितका प्रयास तीव्र


काठमाडौँः नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सुरुङ विज्ञहरूको संयुक्त टोलीले उद्धार प्रयास तीव्र पारेको छ ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने ‘केबल एक्सेस टनेल’ फेला पारेको छ । उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर फसेकाहरूको अवस्थाबारे जानकारी लिने र सम्भव भएसम्म उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली परिचालित छ ।

यसअघि उद्धार टोलीले सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर भित्र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज बनाउन प्वाल फराकिलो पार्ने, ठूला उपकरण प्रयोग गर्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारीसमेत अघि बढाइएको छ ।

यसअघि सुरुङभित्र हावा तथा अक्सिजन पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाइएको थियो । अक्सिजन पठाउने व्यवस्था भएकाले सुरुङभित्र फसेका कर्मचारीहरू सकुशल रहेको आशा गरिएको उद्धार टोलीले जनाएको छ । आयोजनाको भूमिगत विद्युत् गृहमा ओभरहलिङको काम भइरहेका बेला करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्ति सुरुङभित्र फसेको अनुमान गरिएको छ । कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद उद्धार टोली अहोरात्र खटिरहेको छ ।