काठमाडौँः सल्यानका २१ वर्षीय आयुष खड्का लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर पाँच महिनाअघि मात्रै सरकारी सेवामा प्रवेश गरेका थिए । उनको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो।
तर, सेवा प्रवेश गरेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका आयुषको शव पाँच दिनपछि भेटिएको थियो । शव बिग्रने अवस्था भएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमै उनको अन्त्येष्टि गरिएको काका रमेश खड्काले बताए । बागचौर नगरपालिका–१० पिपलनेटाका आयुष परिवारका जेठा छोरा थिए ।
उनी स्नातक तहको परीक्षा दिन दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । भदौ १० गते बिहान बाढीमा परेका उनको भदौ १२ गते काठमाडौं आउने र भदौ १६ गते घर पुगेर परीक्षा दिने योजना थियो । आयुष पढाइमा निकै रुचि राख्ने र भविष्यमा अधिकृत बन्ने सपना बोकेका थिए ।
उनका काका रमेशका अनुसार उनी ‘खरिदार हुँदिनँ, सिधै अधिकृत निकाल्छु’ भन्ने गर्थे । आयुषको मृत्युको खबरपछि उनकी आमा मुना बेहोस भएकी थिइन् । सोमबार देवघाटमा अन्त्येष्टि भइरहँदा पनि आमा मुना र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा थिए। आफन्तहरूले उनीहरूलाई सम्हालेका थिए ।





