श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरु भएको छ। तर, पूर्वमन्त्री सुदन किराती समूहलाई भने बैठकमा प्रवेश गर्न दिइएको छैन । पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बसेको बैठकमा किराती समूहका १८ जना नेता सहभागी हुने अपेक्षा गरिए पनि उनीहरूलाई बैठकमा बोलाइएको छैन। एकताका क्रममा किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य गरी १८ जना श्रम संस्कृति पार्टीमा समाहित भएका थिए।
किराती समूहका केही केन्द्रीय सदस्य बैठकस्थल पुगे पनि ‘तपाईंहरूसँग भोलि बैठक बस्ने’ भन्दै प्रवेश गर्न नदिइएको बताइएको छ। यस घटनाले पार्टी एकतामै असर पर्ने अवस्था आएको किराती निकट नेताहरूको भनाइ छ। यसैबीच, किरातीले धरानमै आफ्नो समूहसँग छुट्टै रणनीतिक छलफल गरिरहेका छन्।
पार्टी एकताका क्रममा अध्यक्ष हर्क साम्पाङले सुदन किरातीलाई कोशीको भावी मुख्यमन्त्रीका रूपमा समेत अघि सारेका थिए। किरातीलाई वरिष्ठ नेताको भूमिका दिइएको थियो भने प्रकाश विकल्पलाई उपाध्यक्ष र टीकाराम राईलाई सचिवको जिम्मेवारी दिइएको थियो।
कसरी बढ्यो विवाद?
पार्टीभित्रको पछिल्लो खटपटमा अध्यक्ष साम्पाङको कार्यशैली मुख्य कारण रहेको किराती निकट एक नेताको दाबी छ। उनका अनुसार विधि र पद्धतिभन्दा फेसबुकमार्फत निर्णय सार्वजनिक गर्ने शैलीले समस्या बढाएको हो।
गत फागुनको निर्वाचनपछि समानुपातिक सांसद छनोटका विषयमा पनि दुई पक्षबीच विवाद चर्किएको थियो। त्यसपछि साम्पाङले समानुपातिक सांसद छनोटको विषयमा हस्तक्षेप वा विवाद गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए।
त्यसपछि साम्पाङ र किरातीबीच मनमुटाव सुरु भएको एक केन्द्रीय सदस्यको दाबी छ। यद्यपि, किरातीले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। साम्पाङले केही समयअघि किरातीमाथि गुटबन्दी गरेको आरोप लगाउँदै पार्टीभित्र दुई खेमा बनाए आफूले जोसुकैलाई पनि निष्कासन गर्ने चेतावनी दिएका थिए।





