काठमाडौँः धादिङको बैरेनी बजारमा बाढी गएको केही दिन बितिसक्दा पनि त्यसले छोडेको लेदो र माटो हटिसकेको छैन। सडकछेउ, घरका आँगन, पसल र विद्यालयभित्र जमेको लेदोले बाढीको त्रासदी सम्झाइरहेको छ। रसुवातर्फबाट आएको बाढी त्रिशूली नदी हुँदै तल झर्दा बैरेनी बजार पनि प्रभावित भयो। बाढीले घर, पसल तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ। कतिपय घर बगेका छन् भने केही संरचना जुनसुकै बेला भत्किन सक्ने अवस्थामा पुगेका छन्।

बाढीका बेला श्री बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरू विद्यालयमै थिए। असेम्ब्ली चलिरहेका बेला शिक्षकहरूले बाढीको जोखिमबारे जानकारी गराएपछि विद्यार्थीहरू सुरक्षित स्थानतर्फ गए। विद्यार्थी प्रशंसा मंग्रती र भूमिका रम्तेलले कक्षामै ब्याग र किताब छाडेर माथि गएको सम्झिए।
बाढीको जोखिम कम भएपछि विद्यालय फर्किएका उनीहरूले आफ्ना सामान खोजे। केही सामान भेटिए पनि कतिपय हराएका छन्। विद्यालयमा भेटिएका झोला, किताब, कापीलगायत सामग्री छुट्याएर सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्ने प्रयास भइरहेको छ। कक्षाकोठामा जमेको लेदो हटाउन नेपाली सेनाका जवानहरू पनि खटिएका छन्।

विद्यालयबाहिर बजारको अवस्था पनि उस्तै छ। स्थानीयहरू साबेलले माटो र लेदो पन्छाउँदै घर तथा पसलभित्र बाँकी रहेका सामान निकालिरहेका छन्। बाढीले केही घर बगाएको छ भने केहीमा चिरा परेका छन्। संरचना सुरक्षित छन् कि छैनन् भन्ने चिन्ता स्थानीयमा छ।बैरेनी अस्पताल परिसरमा पनि बाढीको लेदो र फोहोर जमेको छ। अस्पताललाई पुनः सञ्चालनयोग्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरू मिलेर सरसफाइमा जुटेका छन्। बाढीको भेल रोकिए पनि बैरेनीमा त्यसले छोडेको पीडा, लेदो र पुनःनिर्माणको काम अझै रोकिएको छैन।





