बन्द सरकारी उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिने सरकारको तयारी


काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सरकार आफैँले सञ्चालन नगरी निजी क्षेत्रलाई हस्तान्तरण गर्ने नीति रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले गोरखकाली रबर, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत सात सार्वजनिक उद्योगको विस्तृत मूल्यांकन (डीडीए) सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दशकौँदेखिको ऋण तथा आर्थिक दायित्व फरफारक गरी सरकारी जग्गासम्बन्धी विवाद नआउने व्यवस्था मिलाएर उद्योगहरूलाई ‘अपरेसनल लिज’ मोडलमा निजी क्षेत्रलाई सञ्चालन गर्न दिइनेछ । सरकारले निजी क्षेत्रका लागि निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन काम गरिरहेको पनि उहाँले बताउनुभयो ।