काठमाडौँः मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ती सिलिन्डर आवश्यक परेका उपभोक्तालाई वितरण गरिएको हो ।
ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका छन् । स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेका सर्वसाधारणलाई ग्यास वितरण गरिएको उनको भनाइ छ । यसैबीच, प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन् । त्यस्तै, सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन्। प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँमा ग्यास बिक्री गरिरहेको सूचना पाएपछि साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पसलबाट ७५ वटा हिमाल ग्यास सिलिन्डर जफत गरिएको छ ।





