काठमाडौँः रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण केन्द्रमा फसेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको हो ।
उनीहरू केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार मृत अवस्थामा फेला परेका थिए । फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले बताए । उद्धारका लागि नेपाली सेनाको बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी खटिएका थिए ।
महर्जनका अनुसार भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो । बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित केन्द्रको सम्पूर्ण संरचना ध्वस्त भएको छ । यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसँगै राहत वितरण कार्य जारी रहेको जानकारी दिए। क्षतिको विवरण संकलनका लागि एक महिनाको समय तोकेर २५ सदस्यीय समिति गठन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नदीमाथि तुइन तथा फड्के निर्माण गरी आवतजावत सहज बनाइएको र सम्भावित हैजा तथा अन्य विपद्जन्य महामारीको रोकथामका लागि आवश्यक औषधि तथा जनशक्तिको व्यवस्था गरिएको उनले बताए ।





