काठमाडौँः १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिराहालाई जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार मन्त्रालयले जनाएको छ । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण लामो समयदेखि निर्माण रोकिएको पुलको नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ ।
सबस्ट्रक्चरको ढलान कार्यसमेत सकिएको मन्त्रालयले जनाएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गरिने मन्त्रालयले जनाएको छ । धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि भरिएको माटो वर्षाको पानीले बगाउँदा क्षति पुगेको छ ।
नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ । सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ । मन्त्रालयका अनुसार अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढिरहेको छ । २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना लामो समयसम्म रुग्ण अवस्थामा पुगेको थियो ।





