वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्था बुझाउन म्यानपावरलाई निर्देशन


काठमाडौँः वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण उपलब्ध गराउन म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । विभागले २१ असोजभित्र अनिवार्य रूपमा विवरण बुझाउन निर्देशन दिएको हो ।

विभागले गत असारमा इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक तीन–तीन महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्थासम्बन्धी प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार विभागले पुनः ताकेता गरेको हो । श्रमिकको हक, हित र सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित विवरण विभागको संस्था अनुगमन शाखामा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा पठाइएका प्रत्येक श्रमिक सम्बन्धित गन्तव्य मुलुकमा सुरक्षित रूपमा पुगे वा नपुगेको विवरण १५ दिनभित्र प्राप्त गर्नुपर्नेछ । त्यसका लागि म्यानपावर कम्पनीले श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी विवरण संकलन गर्नुपर्नेछ । यस्तै, श्रमिकले वैदेशिक रोजगार सम्झौताअनुसार काम, तोकिएको तलब तथा अन्य सेवा–सुविधा पाए–नपाएको विषयमा समेत प्रत्यक्ष सम्पर्क गरी विवरण तयार पार्नुपर्ने विभागले जनाएको छ ।

संकलित विवरण श्रमिक उडान भएको २० दिनभित्र विभागको संस्था अनुगमन शाखामा इमेलमार्फत पेस गर्नुपर्नेछ । निर्देशन पालना नगर्ने वा नेपाली श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।