राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे ।  संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।’

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । ‘खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।’

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, ‘त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।’

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।

यो पनि पढ्नुहोस

बाग्चौर नगरपालिका सल्यानले कार्यालयबाट दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा तीन दिनका लागि बन्द गरेको छ । कार्यालय नयाँ भवनमा सार्न थालेकाले नगरपालिकाले दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा बन्द गरेको हो । २०७४ देखि भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालय निर्माण सम्पन्न भएको केही वर्षपछि आफ्नै भवनमा सार्ने क्रममा सबै कर्मचारी सामान ओसारपसारमा व्यस्त हुने र सामग्री पनि लथालिङ हुने भएकाले सबै किसिमको सेवा बन्द गरिएको नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बताए ।

नयाँ भवनमा सामग्री सारेपछि १४ गतेबाट सेवा दिने उनले जानकारी गराए । ‘कार्यालयले दिने सेवा बन्द गर्ने बारेमा १० गते नै सूचना प्रकाशन गरेर पालिकाबासीलाई जानकारी गराइसकेका छौं,’ उनले भने । आफ्नै भवन हुँदाहुँदै पनि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भार परेको उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतमले कार्यालय बन्द गर्न नमिल्ने भएपनि सामग्री यताउता सार्दा काम गर्न नसकिने र कर्मचारीहरु पनि कार्यालय व्यववस्थापनमा खटिने भएकाले नै सेवा बन्द गरिएको बताएका छन् । ‘हामीले एक कक्षमा कम्प्युटर लगायतका सामग्रीसहित कर्मचारी राखेका छौं । यही कोही आवश्यक काम परेर आएमा सेवा दिएर घर फर्काउने गरेका छौं,’ उनले भने । सूचना प्रकाशन गरिसकेकाले सेवाग्राही नआएको उनको भनाइ छ ।