प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन,गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। सर्वोच्च अदालतले लामिछानेलाई नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनले प्रक्रिया पुर्याएर पुन: नागरिकताको प्रतिलिपि लिएका छन्। नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ। रास्वपाले फेरि गृहमन्त्रीमा दावी गरेपनि प्रधानमन्त्री प्रचण्ड नदिने मनस्थितिमा छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखेको छ।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारका प्रमुख तीन प्राथमिकता रहेको बताएका छन्। नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण अवस्थामा गठन भएको सरकारले आफ्ना प्राथमिकतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने बताए। लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा तथा प्रगतिशील कार्यान्वय, चुनौतीपूर्ण रुपमा रहेको अर्थतन्त्रमा सुधार गर्दै जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्ने सरकारको कार्यभार रहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्रीले भने, ‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अघि बढिरहेको छ। लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवम् प्रगतिशील कार्यान्वय, चुनौतीपूर्ण रुपमा रहेको अर्थतन्त्रमा सुधार एवम् जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार हो।