अफगानिस्तानमा रहेको बेलायती दूतावासमा काम गरेका ११ जना नेपाली सुरक्षा गार्डलाई बेलायत सरकारले नेपाल फर्काउने भएको छ ।
एक निजी सुरक्षा फर्ममार्फत् काबुलमा रहेको बेलायती दूतावासमा काम गर्ने नेपालीलाई तालीबानले सत्ता कब्जा गरेपछि बेलायत सरकारले उद्धार गरेर लण्डन पुर्याएको थियो । तर उद्धार गरेर बेलायत पुर्याएको १९ महिनापछि ११ जना नेपालीलाई बेलायत सरकारले देश निकालाको तयारी गरेको बीबीसी हिन्दीले जनाएको छ ।
गोर्खा भनेर चिनिने ११ जना नेपाली सुरक्षा बलको यो समूहले १० वर्षसम्म काबुलमा रहेको बेलायती दूतावासको सुरक्षा गरेको थियो । काबुलबाट लण्डन पुगेपछि उनीहरुले निजी क्षेत्रमा काम गर्दै आएकोमा एकाएक प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख छ ।
आफूहरुले कुनै गल्ती नगरेको र जीविकोपार्जनको लागि कानुन अनुसार नै काम गरिरहेको अवस्थामा पक्राउ गरिएको उनीहरुले गुनासो गरेका छन् । गएको हप्ता लन्डनको एक होटलबाट १० जनालाई हतकडी लगाएर लगिएको केही गोर्खा समूहका वकिलहरूले बताएका छन् ।
एक हप्तादेखि उनीहरु सबैलाई हिथ्रो एअरपोर्ट र ग्याटविक वरपरको इमिग्रेसन रिमुभल सेन्टरमा राखिएको छ । सन् २०२१ मा अफगानिस्तानको राजधानी काबुल तालिबानको नियन्त्रणमा आएपछि ब्रिटिश सेनासँग काम गरेका हजारौँ अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
पक्राउ परेका नेपालीलाई आउँदो वैशाख ६ गते बेलायतबाट नेपाल पठाउने तयारी भइरहेको खबरमा उल्लेख छ ।