काठमाडौँः धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ मा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन ।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले स्थानीयले लालपुर्जा पाएका हुन् । लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व स्पष्ट हुनुका साथै बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र भूमिसम्बन्धी विवाद समाधानमा समेत सहयोग पुग्ने जनाइएको छ । यसअघि धनुषाका ३ हजार ९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।





