पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीले छोरा पक्राउ परेपछि मन बिग्रिएकाले केही अवधि सम्पर्कविहीन भएको बयान प्रहरीलाई दिएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो।
त्यसपछि आफूलाई पनि पक्रेर हतकडी लगाउँछन् भन्ने डरले लुकेको बयान उनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा उल्लेख छ। आफू प्रहरीको सम्पर्कमा आउने तयारी गर्दैगर्दा प्रहरीले समातेको पनि उनले बताएका छन्। मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेपछि आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ,’ उनले भनेका छन्, ‘सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ।’
उनलाई प्रहरीले वैशाख ३१ गते काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो। आफूले भुटानी शरणार्थीको दीर्घकालीन समाधान होस् भन्ने धारणा राख्दै आएको तर गैरभुटानीलाई शरणार्थी बनाएर अमेरिका पठाउने कार्य नगरेको पनि बयान दिएका छन्।
‘बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधन हुनुपर्दछ भन्ने मेरो धारणा रही आएको छ। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ,’ उनले बयानमा भनेका छन्। बयान हेर्दा प्रकरणका योजनाकारमध्ये केशव दुलाल, सानु भण्डीरीसँग उनको निकट सम्बन्ध देखिन्छ।