देशलाई अस्थिरताबाट रोक्न मधेश सरकारलाई एमालेको समर्थन : महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएको भोलिपल्ट बुधबार महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता पोखरेलले सामाजिक संजालमा स्टाटस लेख्दै बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरेका छन् । साथै अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले लेखेका छन् । यस्तै पोखरेलले पछिल्लो समय देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता र अराजकता गम्भीर चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

महासचिव पोखरेलले लेखेका छन्, ‘राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’

मधेशका मुख्यमन्त्री यादवले मंगलबार मात्रै प्रदेशसभामा उपस्थित सबै सांसदबाट पुनः विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै शतप्रतिशत सांसदको विश्वासको मत पाएका उनले एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहे पनि मुख्यमन्त्री यादवले आनाकानी गरिरहेका थिए । प्रदेशसभामा उपस्थित १ सय ३ सांसदले नै उनलाई मत दिएका हुन् ।