नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी, पाँचतारे होटलबाट पक्राउ


नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी भएको पाइएको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न सप्तरी घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय टेकनाथ साहलाई पक्राउ गरेको छ।

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार ऋण लिई फरार भएका थिए। सोही मुद्दामा उच्च अदालत विराटनगरले साहलाई ९८ लाख ८५ हजार ५६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय सुनाएको थियो। 

त्यतिमात्र होइन, साहले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले साहलाई गत सोमबार हयात होटलबाट पक्राउ गरेको थियो।  प्रहरीका अनुसार साहले आफूलाई दीपक सोनी भनेर चिनाउँदै आएका थिए। प्रहरीले उनको साथबाट १५ वटा सिम बरामद गरेको थियो।