नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आउँदो वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र ठाउँ केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन्
हिजो सोमवारदेखि संघीय संसद् भवनमा सुरु भएको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा।प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आउँदो वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताएका छन् ।
उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । उनले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने प्राय सांसदहरुले माग राखेको बताएका छन्। उनका अनुसार महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, पिछडिएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन् ।
बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको पनि प्रमुख सचेतक लेखकले बताए ।
त्यस्तै नेपाली कांग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताए।
सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भए पनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले देशमै रोजागारी सिर्जना गर्न, देशको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताए