आफ्नो प्रेमीले विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् ।
प्रहरी वृत्त बालाजुका अनुसार अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो । हिजो अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि गय राती मुचुल्का तयार पारी शव उठाइएको छ ।
मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् । पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।
मृतककी काकी सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा छ भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी हुन् ।
अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।
नुवाकोट स्थायी घर भई हाल बोहोराटार हाइटमा घर बनाई बसोबास गरिरहेका सुजन ढकालका बुवाले अनुमासँग छोरा सुजनको विवाह गराइदिन अस्वीकार गरेको कारण अनुमाले आत्महत्या गर्नुपरेको मृतककी काकी सिर्जनाले दाबी गरिन् । अनुमाको शवसँगै भेटिएको ‘सुसाइडल डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समावेश गरेकी छिन् ।