नाइजेरियामा हैजाबाट ४८ जनाको मृत्यु, १६ सयभन्दा बढी बिरामी


नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ । देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए।

स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न उपायहरू अपनाएको अडेटिफाले बताए। स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्नु, स्वच्छता अभ्यासहरूलाई बढावा दिनु, खोप र उपचारमा पहुँच प्रदान गर्नु, र हैजाको प्रकोपको निगरानी र अनुगमन गर्नु योजनामा समावेश छन्,’ उनले भने।  

अधिकारीका अनुसार हैजाबाट बच्न र यसको फैलावटलाई पूर्णरुपमा रोक्न सबै सरोकारवालाले आवश्यक उपायहरु अपनाउनु पर्छ । हैजा ‘भिब्रियो हैजा ब्याक्टेरिया’को साथ आन्द्राको सङ्क्रमणको कारण हुने एक पखालाजन्य समस्या हो ।