नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबीसमेत गरे ।
प्रधानमन्त्री दाहालले उक्त भेटबारे केही नभनेको ओलीको आरोप छ । भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको समेत दाबी गरे । तर त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले पनि भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटबारे जानकारी गराएका थिएनन् ।
२०७७ साल कात्तिक ५ गते सुटुक्क काठमाडौं आएका गोयलले तत्कालीन प्रधानमन्त्री ओलीसहित कस-कसलाई भेटे भन्ने त्यतिबेला पनि सरकारले जानकारी गराएन । गोयल फर्किएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले एउटा नोट जारी गरेर गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेको सार्वजनिक गरे । त्यसले यो भ्रमणलाई झन् चर्चामा ल्यायो। भ्रमणको उद्देश्यदेखि प्रोटोकलसम्मका प्रश्न उठे ।
पछिल्लो पटक भ्रष्टाचार प्रकरणमा एमालेलाई जोडेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको दाबी गरे । ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ ।
भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भनेँ, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, वहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ,’ ओलीले भने ।