‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं’

Microlink Media

१७ आश्विन २०८०, बुधबार


गुन्डा नाइके रिगल भनिने योग ढकालबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारतीले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी छिन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै भारतीले भनिन्, ‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं ।’

रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती न्याय खोज्दै काठमाडौं आइपुगेकी हुन् ।२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । धरधरी आँशु झार्दै राष्ट्रपतिलाई भारतीले प्रश्न गरिन् , ‘मेरो ठाउँमा तपाईँको छोरी थिइन् भने के गर्नुहुन्थ्यो ?’

उनले वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताइन् । वर्षौं लगाएर अड्डा अदालत धाएर पाएको न्यायको अर्थ के भयो र ?’, भारतीले भनिन् । उनले रिगललाई आम माफी दिइएपछि आफू पुरानै पीडामा फर्किएको बताइन् ।

‘ म विगत ८ वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेको छु । आम माफी दिइएपछि पुरानो घटना फेरि मेरो अगाडि झल्झली आइरहेको छ’, उनले भनिन्, ‘जेलभित्र जिम चलाएर बसेपनि कारागार भित्र छ भन्ने त थियो ।’