२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु


काठमाडौँः २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनः सञ्चालन गर्ने तयारी अघि बढेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि मिल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।

मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार वीरगन्जस्थित चिनी मिलको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मिलका भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरिएको छ । सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मिलको वर्तमान अवस्था अध्ययन गरी १५ दिनभित्र सरकारसमक्ष विस्तृत प्रतिवेदन पेस गर्नेछ ।

लामो समयदेखि बन्द रहेको मिल पुनः सञ्चालनका लागि आवश्यक लगानी, पूर्वाधार तथा मेसिनरीको अवस्थालगायत विषय प्रतिवेदनमा समेटिने बताइएको छ । कार्यदलको अध्ययनपछि सरकारलाई मिल सञ्चालन सम्भव भए–नभएको विषयमा निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ । सरकारले चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाएसँगै २७ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी मिल फेरि सञ्चालनमा आउने आशा बढेको छ ।