त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुंगे पुलको मर्मत सुरु, ३३ पुल पुनर्निर्माण हुने


काठमाडौः रसुवाको भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका १२ वटा झोलुंगे पुलको मर्मत सुरु भएको छ । मर्मत भइरहेका पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको सरकारले जनाएको छ ।

मर्मत सुरु भएका पुलमा धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया, नुवाकोट–धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा–धादिङ जोड्ने बादरे झोलुंगे पुल छन् । बाढीबाट प्रभावित थप ८ वटा पुलको मर्मतका लागि प्राविधिक तथा प्रशासनिक तयारी भइरहेको छ ।

डेकलगायत आवश्यक सामग्री खरिदका लागि निर्माण कम्पनीसँग सम्झौता भई पहिलो चरणको सामग्री कार्यस्थलमा पुगिसकेको छ भने दोस्रो चरणका स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ । मर्मत गर्न नसकिने गरी क्षति भएका ३३ वटा झोलुंगे पुलको भने पुनर्निर्माण गरिने भएको छ । सरकारले पुनर्निर्माणका लागि भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।

पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिदका लागि समेत बोलपत्र आह्वान गरिएको छ ।