रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्ने तयारीमा रञ्जिता श्रेष्ठ


काठमाडौंः नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै रञ्जिताले कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा आफू पछि नहट्ने संकेत गरेकी थिइन् । उनको उक्त अभिव्यक्तिपछि धेरैले उनले रेशमसँग सम्बन्धविच्छेद गर्न लागेको अनुमान गरेका थिए । तर, रञ्जिताले भने आफूले डिभोर्सका लागि नभई बहुविवाहसम्बन्धी मुद्दा दर्ता गर्न लागेको स्पष्ट पारेकी छन् ।

नेपाल प्रेससँग कुरा गर्दै रञ्जिताले आफू लामो समयदेखि मौन बसेको तर पछिल्लो घटनाक्रमले थप पीडा दिएको बताइन् । उनले रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको बताएकी हुन् । रञ्जिता रेशमकी पहिलो पत्नी हुन्। उनीहरूका एक छोरा छन् । रेशमसँग आशा चौधरीको सम्बन्ध रहेको र उनीहरूबाट एक छोरीसमेत रहेको बताइएको छ । पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिक तथा पारिवारिक सम्बन्धमा दूरी बढेको छ । उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन् ।

रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा र छोरीसँग बस्दै आएको बताइएको छ । आशाले रेशमसँगका विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी छन् । पछिल्लो समय सार्वजनिक भएको एक भिडिओमा उनले आफूलाई रेशमकी ‘एक्लो बुढी’ भन्दै लेखेकी थिइन् । प्राप्त विवरणअनुसार रेशम र आशाबीच विवाह दर्ता भने भएको छैन। रञ्जितासँग सम्बन्धविच्छेद नगरी अर्को विवाह गरेको अवस्थामा कानुनी विवाद उत्पन्न हुन सक्ने भएकाले रञ्जिताले बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

आशा मोडल तथा थारु चलचित्रकी कलाकार हुन्। रेशमले थारु चलचित्र निर्माण तथा निर्देशन गर्ने क्रममा आशासँग नजिकिएको बताइएको छ । त्यसबेला रेशम रञ्जितासँग वैवाहिक सम्बन्धमा थिए । रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको सूचना पाएपछि रञ्जिताले कानुनी बाटो रोज्ने तयारी गरेको बताइएको छ ।