१० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ


रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन्।पक्राउ पर्नेमा सुद्धोधन गाउँपालिका-५ का शिव भारती छन्। उनलाई  शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए।

शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्। ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन्। त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्। एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो।

‘बालिकाकी आमाले छोरीमाथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि शुक्रबार राति  उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,` एसएसपी बिकले भने। पक्राउ परेका आरोपी भारतीलाई छोड्नका लागि दवाव समेत दिन थालेपछि पीडित परिवार घर छाडेर बुटवलस्थित आफन्तकोमा बसेको बताएका छन्।

`सामान्य हो भन्दिनु भनेर दवाव आईरहेको छ, त्यसैले उहाँहरु घर छोडेर आफन्तकोमा गएर बस्नु भएको छ,’ पीडित छिमेकीले भने। सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे जानकारी पाएको बताउँदै आफूले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए।

जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले एकजना महिलाले घटना सामान्य हो प्रहरीलाई नै फोन गरेको बताए। एकजनाले घटना सामान्य हो म बालिकाको आमा हुँ भनेर फोन गर्नुभएको थियो, त्यो बाहेक अन्य कसैले आरोपीलाई छोड्नु पर्‍यो भन्नुभएको छैन,’ उनले भने।

 जिल्ला प्रहरी प्रमुख बिकले कसैले दवाव दिएर आरोपितलाई छोड्न नमिल्ने बताए। आरोपीमाथी अनुसन्धान भईरहेको छ, अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउँला,` बिकले भने।